काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विगतका कुनै पनि निर्वाचनमा धन वा बलको प्रयोग नगरी स्वच्छ प्रतिस्पर्धाबाटै विजयी भएको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो निष्ठा र पारदर्शिता माथि प्रश्न उठाउन नसकिने जिकिर गरे।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री ओलीले विगतका चुनाव अनुभव साझा गर्दै भने, “दुई वटा आम निर्वाचनमा नेपालभरि सर्वाधिक मत ल्याएर जित्ने सांसद म हुँ। कुनै बुथ कब्जा, धम्की, धन वा अनैतिक उपाय प्रयोग नगरी स्वच्छ प्रक्रियाबाट जनताको मत पाएर जितेको हुँ।”

advertisement

उनले आफ्नो पहिलो निर्वाचन—२०४८ सालको संसदीय चुनाव—को प्रसंग उल्लेख गर्दै साथीहरूले संकलन गरेको ४३ हजार रुपैयाँमध्ये १० हजार बचत भएको र पार्टी कोषमा जम्मा गरेको उल्लेख गरे। “पार्टीले दिएको २०० रुपैयाँमध्ये २० रुपैयाँ बचेको थियो। त्यसैबाट साथीहरूलाई चिया खुवाएको थिएँ,” उनले भने, “त्यसरी पनि चुनाव जितिन्छ।”

प्रधानमन्त्री ओलीले पछिल्लो समय निर्वाचन प्रणाली महँगो, भड्किलो र विकृत हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। लोकतन्त्रमा समस्या प्रणालीमा नभई त्यसलाई सञ्चालन गर्ने पात्रहरूको नियत र आचरणमा रहेको उनको भनाइ थियो।
“संविधान वा प्रणाली दोषी छैनन्। दोष प्रणालीमा घुसेका अनुशासनहीन तत्वहरूमा हो,” उनले प्रस्ट पारे।

उनका अनुसार, निर्वाचनमा हारको डरले र अलोकतान्त्रिक मानसिकता बोकेकाहरूले नै लोकतान्त्रिक प्रणालीमाथि प्रश्न उठाउँदै त्यसलाई कमजोर पार्ने प्रयास गरिरहेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले शासन सत्ता जनताको सेवक र व्यवस्थापक मात्र हो भन्ने दृष्टिकोण पुनः पुष्टि गरे। “सरकारले शान्ति, सुशासन र विकासको प्रत्याभूति दिनुपर्छ,” उनले भने, “जनताप्रति सरकार जिम्मेवार र उत्तरदायी हुनुपर्छ।”

प्रधानमन्त्री ओलीले ८८ वर्षको उमेरमा ऐतिहासिक पुस्तक लेख्ने लेखक सूर्यप्रसाद श्रेष्ठको ऊर्जा र योगदानको प्रशंसा गर्दै नेपाली लोकतान्त्रिक यात्रामा उनको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com