काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्न नहुने भन्ने धारणा बहुमतले व्यक्त गरेको बताएका छन्।
आइतबार पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले नेतृत्व परिवर्तनको बहस कमजोर रहेको दाबी गरे। “हिजो पनि धेरैजसो सदस्यले प्रचण्डकै नेतृत्वमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो, आज पनि उस्तै मत आएको छ,” सापकोटाले भने।
उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले बाहिरी मञ्चहरूमा नेतृत्वको विकल्पबारे बोलेपनि स्थायी कमिटी बैठकमा त्यस्तो कुरा नउठाएको जानकारी दिँदै सापकोटाले शर्माले आफ्ना भनाइप्रति आत्मालोचना गर्नुपर्ने सुझाव आइरहे पनि उनले त्यसप्रति कुनै तयारी नदेखाएको उल्लेख गरे।
“शर्मा जीले नेतृत्वबारे बैठकमा खासै कुरा गर्नुभएन, बरु मैले बोलेको सही हो भन्नुभयो,” सापकोटाले भने, “तर अधिकांश सदस्यले नेतृत्वलाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ।”
उनका अनुसार अहिलेको परिस्थितिमा नेतृत्व परिवर्तनको एजेन्डा औचित्यहीन भएको स्थायी कमिटीको बहुमत धारणा हो। शनिबारको बैठकमा सचिव राम कार्कीले भने नेतृत्व रोटेशन प्रणालीमा लैजानुपर्ने प्रस्ताव राखे पनि त्यो व्यवहारतः सम्भव नभएको सापकोटाको तर्क छ। “कम्युनिस्ट पार्टीमा रोटेशन प्रणाली भन्ने कुरा केवल बहसका लागि बहस हो, न त त्यो वैज्ञानिक हुन्छ, न यथार्थवादी,” सापकोटाले प्रस्ट पारे।
शनिबारदेखि सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि जारी रहनेछ। उपाध्यक्ष सापकोटाका अनुसार अधिकांश पदाधिकारीले आ–आफ्ना धारणा राखिसकेकाले सोमबार वरिष्ठ उपाध्यक्ष, महासचिव र अन्ततः अध्यक्ष प्रचण्डले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको १० बुँदे कार्ययोजना प्रस्तावलाई पनि अधिकांश सदस्यले समर्थन गरेको सापकोटाले बताए। “एक–दुई जनाको फरक मतले विशेष अर्थ राख्दैन, किनभने समग्र बैठकमा प्रचण्डकै नेतृत्वमा अघि बढ्ने स्पष्ट संकेत देखिएको छ,” सापकोटाले निष्कर्ष सुनाए।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया