काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक चौथो दिनसम्म आइपुग्दा पार्टीभित्रको आन्तरिक बहस चुलिएको छ। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत तीन दिनदेखि उठेका प्रश्नहरूको विस्तृत जवाफ दिने कार्यक्रम छ।

प्रचण्डले धारणा राख्नुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले आफ्नो विचार प्रस्तुत गर्ने तय भएको छ। बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकका स्थायी कमिटी सदस्यहरूले पहिल्यै आफ्नो धारणा राखिसकेका छन्।

advertisement

पार्टीभित्र हाल उपमहासचिव जनार्दन शर्मा र अध्यक्ष प्रचण्डबीच तीव्र विचारभिन्नता देखिएको छ। शर्माले बैठकमा प्रचण्ड नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका थिए, जसको जवाफ आज प्रचण्डले दिनेछन्।

बैठकमा अधिकांश नेताहरूले अध्यक्ष प्रचण्डको नेतृत्वको पक्षमा उभिँदै पार्टीभित्र गहिरो आत्मालोचनाको आवश्यकता औँल्याएका छन्। तर, उपमहासचिव शर्माले भने पार्टीको आजको अवस्थाको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताउँदै आफू पार्टी नछाड्ने स्पष्ट पारेका छन्।

आजको बैठकले पार्टीको आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्ने अपेक्षा गरिएको छ। यद्यपि उपमहासचिव शर्माले विशेष महाधिवेशनको माग गर्दै आएका छन्, जसले आगामी दिनमा पार्टीभित्रको शक्ति सन्तुलनलाई थप प्रभावित पार्न सक्ने संकेत देखिन्छ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com