काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पश्चिमी देशहरूप्रति अत्यधिक मोह देखाउने प्रवृत्तिलाई निराशावादी सोचको उपज भएको टिप्पणी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले युरोप र अमेरिका सानदार छन्, त्यहाँमात्र समृद्धि सम्भव छ भन्ने सोच गलत भएको बताए। “कतिपयको मनमा युरोप त सानदार होला, अमेरिका त झन् सानदार होला, हामीले त केही गर्न सक्दैनौं कि भन्ने भावना देखिन्छ। तर, त्यो सोच निराशावादी हो,” उनले भने, “हामी आफैं सक्षम छौं, हाम्रो मुलुक पनि सम्भावनाले भरिपूर्ण छ।”
अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रति सम्मान र आकर्षण रहेको उल्लेख गर्दै, तेन्जिङ शेर्पाको योगदानलाई उदाहरणका रूपमा प्रस्तुत गरे। उनले भने, “संसारको सर्वोच्च शिखरमा पहिलोपटक पाइला टेक्ने नेपाली तेन्जिङ शेर्पा हुन्। उनले नेपाललाई गौरवको शिखरमा पुर्याए।”
तेन्जिङ शेर्पाको सम्मानस्वरूप न्युजिल्यान्डका एड्मण्ड हिलारीसँग सम्बद्ध संस्थाहरूले आफूलाई दुई वर्षअघि बोलाएको स्मरण गर्दै अध्यक्ष नेपालले नेपालका नाम, कीर्तिमान र पहिचान विश्वभर फैलिएको बताए।
उनले युवापुस्तालाई देशप्रतिको गर्व र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरे।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया