काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्मालाई पार्टी नेतृत्वप्रति सार्वजनिक आलोचना गरेको विषयमा आत्मालोचना गर्न सुझाव दिएका छन्।
सोमबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले सार्वजनिक टिप्पणीको सन्दर्भ उठाउँदै शर्मालाई आत्मसमीक्षा गर्न आग्रह गरेका थिए। प्रचण्डले भने, “आत्मालोचना करकापले गरिने होइन। यदि तपाईंलाई वास्तविक अनुभूति भएको छ भने आत्मसमीक्षा गर्नुस्।” स्थायी कमिटी सदस्यको भावना पनि त्यही रहेको उनको भनाइ थियो।
तर, शर्माले भने आफूले उठाएका प्रश्नहरू उचित भएको भन्दै ती अहिले पनि यथावत् रहेको स्पष्ट पारे। उनले बैठकमा भने, “मेरा कुराहरू यथावत् छन्। म मेरो हिस्साको कमजोरी स्वीकार्छु, तर गल्ती केवल मेरो मात्रै होइन, सबैमा छन्।”
शर्माले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण हुनुपर्ने धारणा राख्दै भने, “पार्टी फुटाएर जान्छु भनेर अध्यक्षले भन्न थाल्नुभएको छ। तर म स्पष्ट रूपमा भन्छु— म पार्टी फुटाएर जाने पक्षमा छैन।”
उनले आत्मालोचना भने नगर्ने अडान दोहोर्याए। “आत्मालोचना गर्दिनँ, सुधार सबैमा हुनुपर्छ, दोष मात्र मेरो होइन,” उनले थपे।
बैठकका माइन्युटमा अहिलेसम्म हस्ताक्षर नगरेको विषयमा भने शर्माले गल्ती स्वीकार गरेका छन्। उनले माइन्युटमा हस्ताक्षर नगर्नुको कारण छलफल चाहिएको हो भन्ने प्रष्ट पारे।
“हस्ताक्षर नगरेको विषयमा म आत्मालोचित छु,” उनले भने, “छलफल होस् भन्ने चाहना थियो, अहिले छलफल भयो। अब म माइन्युटमा हस्ताक्षर गर्छु।”
यस घटनाले माओवादी केन्द्रभित्र बढ्दो असन्तोष र आन्तरिक बहसलाई थप सतहमा ल्याएको छ। नेताहरूबीचको स्पष्ट धारणाले पार्टीको आगामी कार्यदिशाबारे थप बहस चर्किने संकेत देखिएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया