काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी विवादको छानबिन गर्न गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन आज सभामुख देवराज घिमिरेलाई बुझाउने भएको छ।
संघीय संसद भवनस्थित शंकर हलमा प्रतिवेदन बुझाउने कार्यक्रम तय गरिएको छ। समितिमा लामो छलफलपछि सहमति जुटेपछि प्रतिवेदन आज बिहान पारित गरिएको हो।
छलफलका क्रममा आइतबारदेखि सोमबारसम्म दिनभर बैठक चल्दा पनि सहमति जुट्न नसकेपछि रातभर वार्ता गरिएको थियो। अन्ततः आज बिहान ४ बजे सर्वसम्मत ढंगले प्रतिवेदन पारित गरिएको समितिले जनाएको छ।
प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई प्रमुख जिम्मेवार व्यक्तिका रूपमा उल्लेख गरिएको छ।
छानबिन समितिको नेतृत्व नेपाली कांग्रेसका सांसद जीवन परियारले गरेका हुन्। समितिमा कांग्रेसकै सांसद सुशीला थिङ, नेकपा एमालेका सांसद ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्य छन्।
प्रतिवेदनले कुलिङ पिरियड सम्बन्धी विवादित व्यवस्था कसरी विधेयकमा समावेश भयो भन्ने विषयमा विवरणसहितको विश्लेषण समेटेको जनाइएको छ। अब उक्त प्रतिवेदन संसदमा प्रस्तुत भई आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया