काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको नेतृत्व विवाद निर्वाचन आयोगमा पुगेको छ। रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरेको जानकारी आयोगमा गराइसकेका छन्। तर, रञ्जिता श्रेष्ठले उक्त निर्णयलाई अस्वीकार गर्दै आफू नै वैध अध्यक्ष रहेको दाबी गरेकी छन्।

रेशम चौधरी पक्षले गत साउन १८ गते निर्वाचन आयोगमा नयाँ नेतृत्वबारे जानकारी पठाएको छ। पार्टीका नेता रामलाल डगौराले आयोगमा दस्तावेज पेश गरिएको बताउँदै, “हामीले कानुनी प्रक्रिया पूरा गरेर आयोगलाई जानकारी गराइसकेका छौं, अब आयोगको प्रक्रिया अगाडि बढ्नेछ,” भने।

advertisement

तर, रञ्जिता श्रेष्ठ पक्षले उक्त राष्ट्रिय भेलालाई नै अवैध भन्दै त्यसबाट चयन गरिएको नेतृत्वलाई अस्वीकार गरेको छ। श्रेष्ठ पक्षका एक नेताका अनुसार, “एउटा समूहले नयाँ अध्यक्ष तोकेको छ, रञ्जिता श्रेष्ठले आफ्नो धारणा स्पष्ट गरिसक्नुभएको छ। अब निर्वाचन आयोगको निर्णय पर्खनुको विकल्प छैन।”

श्रेष्ठले पोखराको लिचीबारी घटनामा आफू मुछिएपछि पार्टीभित्र आलोचना बढेको थियो। सो घटनापछि पार्टीमा आन्तरिक छलफल र बैठकको माग भइरहँदा उनले कुनै बैठक नबोलाई पोखराका शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन्। यही कदमलाई अस्वीकार गर्दै रेशम पक्षका बहुमत नेताहरूले केन्द्रीय समिति बैठक डाकी राष्ट्रिय भेला गर्ने निर्णय गरेका थिए।

राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्ष मात्र होइन, पार्टीको साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको थियो। सो भेलाबाट लालवीर चौधरीलाई नयाँ अध्यक्षमा चयन गरिएको हो। लालवीर चौधरी रेशम चौधरीका पिता हुन्। उनी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएपछि नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएका थिए।

यसअघि पनि पार्टीको महाधिवेशनसम्बन्धी विवाद आयोग र सर्वोच्च अदालतमा विचाराधीन रहँदै आएको छ। अहिले पुनः अध्यक्षताको विषयले पार्टीमा अर्को गम्भीर विवाद सिर्जना गरेको छ, जसको टुंगो निर्वाचन आयोगको निर्णयपछि लाग्ने देखिन्छ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com