हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पहिले भएको राजनीतिक सहमति नमान्दा कांग्रेसभित्रको बहादुरसिंह लामा समूह असन्तुष्ट बनेको छ।

प्रदेश कांग्रेसका सभापति समेत रहेका बानियाँ मुख्यमन्त्री नियुक्त भइसकेका छन् भने उनले शपथ लिएपछि एमालेका ६ जना र कांग्रेसका २ जना सांसदलाई मन्त्रिपरिषद्मा समेटेर शपथ गराइसकेका छन्।

advertisement

तर पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षले भने कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको सहमति उल्टिएको आरोप लगाउँदै गम्भीर असन्तुष्टि जनाएका छन्।

१७ साउनमा देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको छलफलमा धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री बनाउने सहमति भएको लामाको दाबी छ। तर बानियाँले ती नामको सट्टा कांग्रेसबाट धादिङका शिवराज अधिकारी र सिन्धुपाल्चोकका कृष्णकुमार तामाङलाई मन्त्री बनाएका छन्।

शिवराज अधिकारीको जिम्मेवारी अझै तय भइसकेको छैन भने तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

पूर्वमुख्यमन्त्री लामाले सहमति विपरीत मन्त्री नियुक्त गर्नु संविधान र पार्टी निर्णयको अवमूल्यन भएको बताएका छन्। “ईश्वरको नाममा शपथ खाएर सहमति तोड्न मिल्दैन,” लामा भन्छन्, “यस विषयमा नेतृत्वसँग स्पष्ट कुरा गर्छौं। हामी यस्तो निर्णय स्वीकार गर्न सक्दैनौं।”

लामाले आजै काठमाडौं पुगेर सभापति देउवासँग भेट गर्ने तयारी गरेका छन्। उनका अनुसार, सोमबार मात्रै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएर प्रदेश प्रमुख कार्यालयमा दर्ता गराएका थिए।

१४ साउनमा लम्साल, श्रेष्ठ र गुरूङलाई मन्त्री नियुक्त गरिएको थियो र सोही दिन बिहान ९ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको थियो। तर कार्यक्रम स्थगित भयो। पुनः १५ साउन दिउँसो १ बजेका लागि शपथ तय गरिए पनि बिहान ५ बजे नै प्रदेश प्रमुख यादवचन्द्र शर्माको स्वास्थ्यमा समस्या देखिएपछि उनी आकस्मिक रूपमा काठमाडौं गएका थिए। त्यसपछि प्रदेश प्रमुख कार्यालयले अर्को सूचना नभएसम्मका लागि शपथ कार्यक्रम स्थगित गरेको थियो।

१७ साउनमा देउवासँगको सहमतिपछि लामा र बानियाँबीच अन्ततः कुरा मिलेको भन्दै लामाले पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेका थिए। तर, पछिल्लो मन्त्री नियुक्तिमा सो सहमति विपरित कदम चालिएको भन्दै उनले कडा असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com