काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रेडियोलोजिस्ट चिकित्सकको अभावप्रति गम्भीर आपत्ति जनाएका छन्।
वार्षिक ५० करोड रुपैयाँभन्दा बढी बजेट पाउने प्रतिष्ठानमा एक जना अत्यावश्यक रेडियोलोजिस्ट समेत नराखिएको भन्दै शाहीले यो जुम्ला र सम्पूर्ण कर्णाली प्रदेशप्रतिको अपमान भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै शाहीले कार्यवाहक उपकुलपति र रजिष्ट्रारले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी तलब लिने, राजनीतिक कार्यकर्ता भर्नामा करोडौँ रुपैयाँ खर्चिने तर जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक जनशक्ति व्यवस्थापन नगरेको गुनासो गरेका छन्।
उनले प्रतिष्ठानको नेतृत्वमा ‘अत्यधिक दादागिरी’ देखिएको आरोप लगाउँदै चेतावनी दिएका छन्, “यस्तो बेथितिको विरुद्ध कर्णाली र जुम्लावासी चुप लागेर बस्दैनन्। बेलैमा सुध्रिनुहोस्, नभए जनताले आफ्नो अधिकार प्रयोग गर्न बाध्य हुनेछन्।”
शाहीले सम्बन्धित निकायहरूलाई यस विषयमा जानकारी गराइसकेको पनि उल्लेख गर्दै छिट्टै आवश्यक सुधारको अपेक्षा राखेका छन्।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया