काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौंको भृकुटीमण्डपमा आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रदर्शनी हल निर्माण गरिने प्रतिबद्धता जनाएका छन्।

बुधबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले वर्तमान अवस्थामा निजी क्षेत्रले प्रदर्शनी आयोजना गर्दा भोग्नुपरेको कठिनाइप्रति सरकार संवेदनशील रहेको स्पष्ट गरे।

advertisement

“एउटा कार्यक्रम आयोजना गर्न आयोजक संस्थाले धेरै हैरानी भोग्नुपर्छ,” उनले भने, “त्यही समस्याको दीर्घकालीन समाधानका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमै भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने योजना समावेश गरेको छ।”

उनका अनुसार निर्माण प्रक्रिया अघि बढिसकेको छ र ढिलोमा तीन वर्षभित्र हल तयार हुनेछ। “यदि सम्भव भयो भने दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ,” पौडेलले थपे।

अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रको समुचित विकासका लागि गुणस्तरीय सडक पूर्वाधार अपरिहार्य भएको उल्लेख गरे। सरकारले पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस वेमा स्तरोन्नति गर्ने योजना अघि सारेको, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिइएको जानकारी दिए।

“अब हामी धूलो–हिलो रहित सहरको कल्पना मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने चरणमा प्रवेश गरिसकेका छौं,” मन्त्री पौडेलले स्पष्ट पारे।

त्यस्तै, निजी क्षेत्रले उठाउँदै आएको नीतिगत स्थिरताको विषयमा सरकार गम्भीर रहेको उनले बताए। “नीतिगत अस्थिरताले उद्योग र व्यवसायमा कस्तो असर पार्छ भन्ने सरकारलाई थाहा छ,” उनले भने, “त्यसैले स्थिर नीति निर्माण र कार्यान्वयनमा सरकार दृढ छ।”

अन्त्यमा, उनले बजेट कार्यान्वयनमा पनि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै, नाइमाले छोटो समयमै महत्वपूर्ण प्रदर्शनी आयोजना गरेर आफूलाई प्रभावकारी ढंगले प्रमाणित गरेको भन्दै प्रशंसा गरे।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com