काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसी परियोजनाविरुद्ध देशभर प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीले साउन ३० गते देशका प्रमुख शहरहरूमा विरोध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
पार्टीको एमसीसी सरोकार समितिका संयोजक भरत सीले एक विज्ञप्ति जारी गर्दै केही महिना अगाडि स्थगनमा परेको अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा पुनः कार्यान्वयन गर्न लागिएकोप्रति आपत्ति जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, “एमसीसी सम्झौता संशोधनबिना पुनः लागू गर्न खोज्नु राष्ट्रिय स्वाभिमानविरुद्धको घातक प्रयास हो। नेकपासँगै स्वाभिमानी नेपाली जनता यसविरुद्ध निरन्तर आन्दोलनमा छन्।”
पार्टीले जनसङ्घर्षलाई अझ प्रभावकारी बनाउन सम्पूर्ण देशभक्त, वामपन्थी, समाजवादी, कम्युनिस्ट र गणतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भएर साथ दिन आह्वान गरेको छ।
“एमसीसीको उपस्थितिले राष्ट्रको सार्वभौमिकता र स्वतन्त्रतामाथि खतरा उत्पन्न गराउने भएकाले यसको पूर्ण खारेजी नभएसम्म संघर्ष जारी रहनेछ,” विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया