काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच बुधबार अश्गाबातमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा नेपाल र तुर्कमेनिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध, क्षेत्रीय सहकार्यका सम्भावना, तथा आपसी हितका विविध विषयमा विस्तृत छलफल भएको छ।
भेटवार्ताअघि प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिँदै दक्षिण–दक्षिण सहकार्यसम्बन्धी सत्रलाई सम्बोधन गरेका थिए। साथै, उनले सम्मेलन अन्तर्गत आयोजित ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’ विषयक राउन्ड टेबलको सह–अध्यक्षतासमेत गरेका थिए।
सम्मेलनको साइड इभेन्टका क्रममा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरूको रूपान्तरण कुनै विकल्प नभई अत्यावश्यक आवश्यकता भएकोमा जोड दिँदै, सशक्त अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याएका थिए।
यसअघि, प्रधानमन्त्री ओलीले किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष अकिलबेक झपारोभसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओली साउन १८ गते राति अश्गाबात पुगेका हुन्।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया