हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाले जनताले न्याय, शान्ति र विकास प्रत्यक्ष अनुभूत गर्न सक्ने गरी आफूले काम गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्।
नेपाली कांग्रेस बागमती प्रदेश समितिद्वारा आज हेटौंडामा आयोजित स्वागत तथा बधाई कार्यक्रममा मुख्यमन्त्री बानियाले उत्तरदायी, जवाफदेही र पारदर्शी शासन प्रणालीमार्फत नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित कार्य गर्ने बताए।
“राजनीति कुनै नाफा–नोक्सानको व्यापार होइन, यो सेवा र धर्म हो,” उनले भने, “म जनताको सेवामा समर्पित छु र सधैं गरिब, निमुखा र पीडितका पक्षमा सत्य, न्याय र इमानदारीपूर्वक लागिरहने छु।”
मुख्यमन्त्री बानियाले आफूले गरिब र विपन्न वर्गको पीडा नजिकबाट अनुभव गरेको बताउँदै आफ्नो कार्यकालमा प्राप्त हुने तलब भत्ताबाट निर्वाचन क्षेत्रका गरिब परिवारका लागि घर निर्माण गर्ने घोषणा समेत गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूले मुख्यमन्त्री बानिया, बिनाविभागीय मन्त्री शिवराज अधिकारी तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई विशेष सम्मान तथा स्वागत गरेका थिए।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया