काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले सरकारमा सहभागी दुई दलले समर्थन फिर्ता लिएसँगै संविधानअनुसार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने बताएका हुन्।
चौधरीले संविधानको धारा १००(२) अनुसार सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि तीस दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था स्मरण गराए। उनका अनुसार नागरिक उन्मुक्ति पार्टीले दिएको समर्थन फिर्ता भएको आज (बुधबार) एक महिना पूरा भएको छ। यद्यपि प्रधानमन्त्री ओलीले अझैसम्म विश्वासको मत लिने प्रक्रिया सुरु गरेका छैनन्।
सांसद चौधरीले ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै भने, “सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रमहरूमा विश्वासको मत लिन नपर्ने तर्क गरिरहनुभएको छ। उहाँको यस्तो भनाइ गैरकानुनी, असंवैधानिक र गैरजिम्मेवारपूर्ण हो।”
उनले प्रधानमन्त्रीजस्तो संवैधानिक पदमा बसेको व्यक्तिले यस्तो कुतर्क गर्नु दुर्भाग्यपूर्ण भएको बताए। “संविधानलाई मान्ने हो भने प्रधानमन्त्रीले तुरुन्तै संसदबाट विश्वासको मत लिनुपर्छ,” चौधरीले स्पष्ट पारे।
जनता समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले संसदबाट बहुमतको विश्वास लिएको पुष्टि गर्नुपर्ने विपक्षी सांसदहरूको माग छ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया