काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले हजारौं सहकारी पीडितलाई ठगी गरेर फरार रहेका जिबी राईलाई किन नेपाल ल्याउन नसकिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग प्रश्न गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले सभामुखमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीलाई सोधे, “हजारौं नेपालीलाई ठगेका जिबी राई मलेसियामा खुलेआम हिँडिरहेका छन्, तर नेपाल ल्याउने पहल किन परिणाममा पुग्न सकेन?”

advertisement

शर्माले सहकारी ठगी पीडितलाई ५ लाख रुपैयाँसम्म रकम फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न आग्रह गर्दै भने, “प्रधानमन्त्री विदेशबाट फर्कनासाथ पीडितलाई राहत दिन ढिलाइ नगरियोस्।” उनले ठगीसम्बन्धी मुद्दाहरूमा ढिलाइ र कारबाही प्रक्रियामा कमजोरी भएको भन्दै सरकारको आलोचना गरे।

उनका अनुसार जिबी राईका दुई सहयात्री – रवि लामिछाने र छविलाल जोशी – हाल जेलमा छन् तर राईमाथि भने कारबाहीको ठोस पहल नभएको आरोप लगाए। “राई भागेपछि नेपालमा तीन गृहमन्त्री फेरिए, तर कसैले पनि उनलाई देश फर्काउने नतिजामा पुग्न सकेन,” शर्माले भने।

उनले कूटनीतिक र प्रशासनिक संयन्त्रमाथि प्रश्न उठाउँदै थपे, “हजारौं नेपालीलाई ठग्ने टिमको उपनेतामाथि यति कमजोर कूटनीति र प्रशासनिक शक्ति किन?”

शर्माले सहकारी पीडितलाई न्याय दिन सरकार तत्काल गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com