तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आर्थिक समृद्धि, क्षेत्रीय सहकार्य र साझा प्रगतिका लागि छिमेकी देशहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत बिहीबार आयोजित ‘दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ शीर्षकको उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।
उनले नेपालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय लक्ष्यलाई हासिल गर्न दिगो पूर्वाधार निर्माण, सबल कनेक्टिभिटी तथा सरल र निर्वाध पारवहन प्रणाली अपरिहार्य रहेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले भने, “हामी सीमापार सम्पर्क सञ्जाललाई बलियो बनाउँदै पारवहन र व्यापारलाई सहज र सुनिश्चित बनाउन प्रतिबद्ध छौँ।”
आवाजामा पारित कार्ययोजनामा समेटिएका दिगो पूर्वाधार, सशक्त सम्पर्क सञ्जाल र लचिलो पारवहन प्रणाली जस्ता विषयहरू भूपरिवेष्टित मुलुकहरूको उज्वल भविष्यका लागि आशाका आधार भएको ओलीको भनाइ थियो। उनले ती कार्ययोजनालाई विश्वव्यापी रूपमा भौतिक, डिजिटल तथा आर्थिक रूपमा जोड्ने सामूहिक दृढ संकल्पलाई पुनः पुष्टि गर्न आह्वान गरे।
प्रधानमन्त्री ओलीले पूर्वाधार, कनेक्टिभिटी र ट्रान्जिटलाई समता र समावेशी विकासको आधार मानेर कुनै पनि राष्ट्र पछि नपर्ने गरी साझा समृद्धिको बाटोमा अघि बढ्न सबै सहभागी राष्ट्रहरूलाई आह्वान गरे।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन आज समापन हुँदैछ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया