काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्माबीच पार्टीका चार मुख्य विषयमा साढे दुई घण्टासम्म गहन छलफल भएको छ।
आज बिहान १० बजे देउवा निवास बूढानीलकण्ठमा सुरु भएको बैठक दिउँसो साढे १२ बजे सम्म चलेको थियो। बैठकमा क्रियाशील सदस्यता नवीकरण विवाद, १५ औं महाधिवेशनको तयारी, सात भ्रातृ संस्थाको महाधिवेशन गराउने टिओआर तयार गर्ने निर्देशक समिति र जिल्लास्तरका विवाद समाधान गर्ने विषयमा विस्तृत छलफल भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।
कांग्रेस केन्द्रीय कार्यसमितिको असार १६ देखि २३ गतेसम्मको बैठकले क्रियाशील सदस्यता नवीकरणको समय साउन मसान्तबाट असोज मसान्तसम्म लम्ब्याएको थियो। बैठकले विवाद समाधानका उपायहरूमाथि छलफल गर्दै जिल्लास्तरमा देखा परेका सदस्यता विवाद मिलाउन पहल गर्ने निर्णय गरेको छ।
वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मंसिरमा सकिँदैछ। १५ औं महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म प्रक्रिया सुरु भएको छैन। त्यसबारे रणनीति बनाउन पनि छलफल भएको छ।
केन्द्रीय कार्यसमितिले सात भ्रातृ संस्थालाई अन्तिम पटक म्याद थप्दै महाधिवेशन गराउने जिम्मेवारी निर्देशक समितिलाई दिएको छ। बैठकले निर्देशक समितिलाई आवश्यक टिओआर र कार्यादेश उपलब्ध गराउने सहमति समेत जनाएको छ।
कुनै जिल्लामा अझै पुराना विवाद समाधान नभएपछि, सर्लाही, बारा, धादिङ लगायतका जिल्लाका पदाधिकारीलाई काठमाडौँ बोलाएर एक दिनमा समस्या समाधान गर्ने पहल अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा पार्टी सांसद तथा राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाको विषयमा कुनै छलफल नभएको गगन थापाले स्पष्ट पारेका छन्। बैठकमा मुख्यतः पार्टीका आन्तरिक विषयमाथि मात्रै केन्द्रित छलफल भएको जानकारी उनले दिएका छन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया