काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्ट समूहले फेरि अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको आन्तरिक समस्या र नेतृत्वशैलीबारे दोस्रो पटक पत्र बुझाएको छ।
उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवलशमशेर राणालगायत नेताहरूले बुधबार पार्टी कार्यालयमा दर्ता गराएको उक्त पत्रमा अध्यक्ष लिङ्देनले पार्टीभित्र “स्वेच्छाचारी गतिविधि र हुकुमी शैली” अपनाएको आरोप लगाइएको छ।
यसअघि साउन १८ गते पनि महामन्त्री राणाले अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पत्र बुझाएका थिए। तर कुनै प्रतिक्रिया नआएको भन्दै नयाँ पत्रमार्फत फेरि गम्भीर आपत्ति प्रकट गरिएको हो।
पत्रमा भनिएको छ – पार्टी एकता र विधानअनुसारको प्रक्रियाभित्रै रहेर नेतृत्वलाई बलियो बनाउनुपर्नेमा अध्यक्षले ‘मन नपर्ने व्यक्तिलाई हटाउने र अपमान गर्ने प्रवृत्ति’ मौलाएको छ।
असन्तुष्ट पक्षले हालै सम्पन्न राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशनमा गुटगत स्वार्थ हाबी भएको र ४० वर्षमुनिका युवामाथि ‘गुन्डा’ भन्ने अपमानजनक व्यवहार भएको आरोप पनि पत्रमा राखिएको छ।
त्यसैगरी, अनुशासन समितिको अध्यक्ष हटाउने वा नयाँ नियुक्त गर्ने विषयमा आधिकारिक निर्णय नगरी अनधिकृत ढंगले कार्य अघि बढाइएको उल्लेख छ।
पत्रमा भनिएको छ, “स्वेच्छाचारिता र आतङ्कको वातावरणमा प्रजातन्त्र फस्टाउन सक्दैन। स्वतन्त्र सहभागिता नभए महाधिवेशन निष्पक्ष र मर्यादित हुन सक्दैन। गुटगत पक्षधरता र विधानमाथि धावा बोल्ने गतिविधिले राप्रपाको छवि र राजनीतिक भविष्य दुवैलाई क्षति पुगेको छ।”
असन्तुष्ट पक्षले पार्टीलाई साझा प्रजातान्त्रिक संस्थाका रूपमा सञ्चालन गर्न, पार्टी एकतालाई सर्वोच्च प्राथमिकता दिन, विधानअनुसार चार वर्षभित्र महाधिवेशन सम्पन्न गर्न र नेतृत्व चयन पनि महाधिवेशनमार्फत गर्न माग गरेको छ।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया