अलास्का । अमेरिकी वायुसेनाको एफ–३५ लडाकू विमान जनवरी २८ मा अलास्कास्थित इल्सन हवाईअड्डामा दुर्घटनाग्रस्त भएको थियो। नयाँ सार्वजनिक भएको छानबिन प्रतिवेदन अनुसार, दुर्घटनाअघि पाइलटले विमानमा देखिएका प्राविधिक समस्याहरू समाधान गर्न आकाशमै इन्जिनियरहरूसँग करिब ५० मिनेट लामो कुराकानी गरेका थिए।

सिएनएनले प्रतिवेदन उद्धृत गर्दै जनाएको छ कि पाइलटले सुरुमा चेकलिस्ट अनुसार समस्या समाधान गर्ने प्रयास गरेका थिए। तर समस्या समाधान नभएपछि उनी विमान निर्माता कम्पनी ‘लकहिड मार्टिन’ का पाँच जना इन्जिनियरसँग कन्फरेन्स कलमार्फत सम्पर्कमा आएका थिए। कन्फरेन्स कलमा वरिष्ठ सफ्टवेयर इन्जिनियर, उडान सुरक्षा इन्जिनियर र तीन जना ल्यान्डिङ गियर विशेषज्ञहरू सहभागी थिए।

advertisement

विमान हवाईअड्डा नजिक उडिरहेको बेला पाइलटले पाङ्ग्राहरू भित्र तान्ने प्रयास गर्दा समस्या अझ जटिल भयो। ‘टच एन्ड गो’ ल्याण्डिङको दुईपटक प्रयास गर्दा पाङ्ग्राहरू पूर्ण रूपमा खुल्न सकेनन् र विमान अनियन्त्रित अवस्थामा पुग्यो। अन्ततः पाइलटले प्यारासुट लगाएर ज्यान जोगाए। तर १० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको एफ–३५ जहाज पूर्ण रूपमा ध्वस्त भयो।

अमेरिकी वायुसेनाको अनुसन्धानले विमानको ल्यान्डिङ गियर हाइड्रोलिक लाइनमा जमेको बरफ मुख्य कारण रहेको पत्ता लगाएको छ। विमान उड्दा हाइड्रोलिक प्रणालीमा पानी जमेर बरफ बनेकोले अगाडिको र मुख्य पाङ्ग्राहरू खोल्न नसकेको प्रतिवेदनमा उल्लेख छ। यसै कारण विमानको कम्प्युटर प्रणालीले ‘स्वचालित ग्राउन्ड–अपरेसन मोड’ सक्रिय गर्‍यो, जसले विमानलाई हावामा उडिरहँदा पनि जमिनमा गुडिरहेको जस्तो व्यवहार गरायो।

प्रतिवेदनमा उल्लेख छ कि दुर्घटनामा विमान निर्माता कम्पनीको चेतावनी बेवास्ता गरिएको थियो। लकहिड मार्टिनले २०२४ अप्रिलमा अत्यधिक चिसो मौसममा एफ–३५ को सेन्सरमा समस्या आउन सक्ने चेतावनी दिएको थियो। दुर्घटनाको दिन तापक्रम माइनस एक डिग्री फरेनहाइट थियो।

अन्ततः अनुसन्धान बोर्डले पाइलट र इन्जिनियरहरूको निर्णय प्रक्रिया, हाइड्रोलिक तरल पदार्थको भण्डारण र वितरणमा लापरबाही, र मर्मत प्रक्रिया सही ढंगले पालना नगर्नु लगायतका कारणहरूलाई दुर्घटनाका प्रमुख जिम्मेवार ठहराएको छ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com