काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संघीय निजामती सेवा विधेयकमा निजामती कर्मचारी र उनका परिवारका सदस्यहरूले स्वास्थ्य उपचार सुविधा स्वास्थ्य बीमा बोर्डमार्फत् पाउने व्यवस्था गरेको छ।
निजामती सेवा विधेयकमा उल्लिखित व्यवस्था अनुसार, ‘नेपाल सरकारका निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यहरूले औषधि र स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमासम्बन्धी प्रचलित कानुन बमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग आबद्ध भएर योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू हुने’ व्यवस्था गरिएको छ।
पहिलेदेखि लागू गरिएको व्यवस्थामा सामाजिक सुरक्षा कोषमार्फत् स्वास्थ्य बीमा लागू गर्ने प्रावधान रहेको थियो। तर राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले यसलाई स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गरिने गरी संशोधन गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विधायन व्यवस्थापन समितिसँग भएको छलफलमा निजामती कर्मचारी र उनका परिवारका सदस्यको औषधि उपचारको व्यवस्था स्वास्थ्य बीमा बोर्डमार्फत् सञ्चालन गर्न पहल गरेका थिए। सोही सुझावअनुसार समितिले विधेयकमा स्पष्ट प्रावधान राख्दै स्वास्थ्य बीमाको व्यवस्था सुनिश्चित गरेको छ।
यस निर्णयले निजामती कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा ठोस कदम थपेको विश्लेषकहरू बताउँछन्।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया