काठमाडौं । काठमाडौंभित्र थुप्रिएको फोहोरलाई लिएर महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको छ । बैठकमा वडाध्यक्षहरु मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलविरुद्ध आक्रमकरुपमा प्रस्तुत भए । फोहोरको समस्याको सबै दोष उनीहरुले मेयर साहमाथि थोपर्ने प्रयास गरेका थिए ।

आजको बैठकको सुरुवातमा साहले छलफलका लागि १३ वटा प्रस्ताव अघि सारेका थिए । तर, वडाध्यक्षहरुले भने फोहोर व्यवस्थापनबाहेक अरु विषयमा छलफल नै नगर्ने अडान लिए । उनीहरुले भोलिदेखि जात्रा सुरु हुने भएकाले फोहोरको समस्या भयावह बनेको बताए । यस क्रममा केही वडाध्यक्षले मेयर साहको आलोचना गरेका थिए ।

त्यसपछि मेयर साहले फोहोर व्यवस्थापनका विषयमा भएको प्रगतिबारे व्रिफिङ गरे । तीन दिनअघिसम्म दैनिक २०० देखि ३०० टिपसम्म फोहोर गइरहेको तर, अस्ति राति गाडी तोडफोड भएपछि फोहोर फाल्ने क्रम रोकिएको बताए। यस विषयमा हिजो सहरी विकास मन्त्रालयमा बैठक बसेको भन्दै उनले भोलिबाट फोहोर उठ्नेमा आश्वस्त तुल्याउन खोजे । तर, वडाध्यक्षहरुले चित्त बुझाएनन् ।

एक वडाध्यक्षले भोलिबाट दुई दिन काठमाडौंमा जात्रा हुने भएकाले रातारात भए पनि सडकमा थुप्रिएको फोहोर उठाउनुपर्ने बताए ।

उनले भने, ‘हामी पनि खट्नु परे खटौंला । तर, जसरी पनि गाइजात्रा हुने कोर एरियाको फोहोर क्लियर गर्नुपर्यो । होइन भने जनताले हामीलाई गाली गर्छन् ।’

 

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com