काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तीव्र रूपमा भइरहेको छ।

बुधबार राति करिब ८ बजे कपनस्थित कार्यालयबाट घर फर्किँदै गर्दा भण्डारीमाथि आक्रमण भएको थियो। घटनापछि काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका छुट्टाछुट्टै टोली परिचालन गरिएको छ।

advertisement

परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको जनाउँदै भने, ‘हामीले सिसिटिभी फुटेजमार्फत अनुसन्धान अगाडि बढाइरहेका छौं।’

त्यस्तै, अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले पनि विशेष टोली परिचालन गरी अनुसन्धान भइरहेको जानकारी दिए।

रास्वपाका सचिवालय सदस्य दीपक बोहराले फेसबुक लाइभमार्फत् भण्डारीमाथि मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूले रड प्रहार गरेको बताएका छन्। उनको टाउको र खुट्टामा चोट लागेको र टाउकोमा १० टाँका लगाउनुपर्ने अवस्था आएको उनले जानकारी दिए। आक्रमणपछि भण्डारीलाई तत्कालै चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल पुर्‍याइएको थियो।

स्वयं भण्डारीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूलाई केही समयदेखि धम्की आइरहेको र सोही राजनीतिक रिसइबीका कारण आफूमाथि आक्रमण भएको दाबी गरेका छन्। ‘मलाई पहिले नै फोनबाट धम्की आएको थियो। मेरा कार्यालय वरिपरि आएर मेरो बारेमा सोधपुछ गर्नेहरू देखिएका थिए,’ उनले लेखेका छन्।

भण्डारीले यो आक्रमणलाई पूर्ण रूपमा राजनीतिक उद्देश्यले गरिएको दाबी गर्दै दोषीलाई छिट्टै कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com