काठमाडौं । राजस्वछली र सुपारी तस्करीबाट अकुत सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएका विवादित व्यापारी कमल किशोर मालपानीको नेपाली नागरिकता नै शंकास्पद भेटिएको छ। भारतीय नागरिक बालकृष्ण मालपानीका छोरा कमल किशोर मालपानीले सप्तरी जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा नेपाली नागरिकता लिएको र सप्तरीबाट मोरङ्ग हुँदै अन्ततः रूपन्देही जिल्ला प्रशासन कार्यालयबाट नियमविपरीत सोही नागरिकताको प्रतिलिपि निकालेको पाइएको हो।

advertisement

वि.सं २०१९ सालमा सप्तरीमा जन्मिएको भनिएका कमल किशोर मालपानीले २०५४ सालमा सप्तरी जिल्ला प्रशासन कार्यालयबाट पहिलोपटक वंशजको आधारमा नेपाली नागरिकता लिएको देखिन्छ। वि.सं २०१९ सालमा जन्मिएका कमल किशोर मालपानीले ३५ वर्ष पछि मात्रै नेपाली नागरिकता लिनुले उनको नागरिकता शंकास्पद देखिएको थियो। जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको नागरिकताको प्रतिलिपी वि.सं २०७१ सालमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट लिएका थिए।

सरकारी कर्मचारीले बाहेक एउटा जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपी अर्को जिल्लाबाट लिने अधिकार सामान्य नागरिकलाई छैन। तर, नेपाल सरकारको कर्मचारी नै नरहेका सुर्ती व्यापारी कमल किशोर मालपानीले भने एउटा जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि नियमविपरीत अर्को जिल्लाबाट लिएको पाइएको छ ।

करेन्ट गुट्खा उत्पादन गर्ने श्रीराम टोबाको र करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका मालीक कमलकिशोर मालपानीले बंशजको आधारमा नागरिकता लिने कुनै आधार नभएको स्रोतको दाबी छ। उनले सुरुमा सप्तरीबाट ४८२० नम्बरको नागरिकता लिएको देखिन्छ। त्यसपछि सोही नागरिकता नम्बरको आधारमा रूपन्देहीबाट अर्को प्रतिलिपि लिएको पाइएको हो । उनले रूपन्देहीबाट लिएको नागरिकता ३७-०२-७१-१३६५८ नम्बरको हो।

बुटवलस्थित श्रीराम टोबाकोमार्फत १० करोड बिगोसहित राजस्व छलीमा मुद्दा चलेका मालपानी अन्ततः सेटिङमा रिहा भएका थिए।

मालपानीको उक्त मुद्दा जिल्ला अदालत रुपन्देही हुँदै उच्च अदालत तुल्सिपुर पुगेको थियो। उच्च अदालत तुल्सिपुरले गरेको फैसला निकै नै त्रुटिपूर्ण भएको भन्दै सरकारले सर्बोच्च अदालतमा पुनरावेदन गरेको छ। सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण ऐन २०६८ विपरीत सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पर्नेगरी ‘करेन्ट’ नाममा सुर्तीजन्य पदार्थ र खाद्य पदार्थको नाम राखेर कानुनलाई नै चुनौती दिइरहेका छन्। श्रम ऐनलाई समेत चुनौती दिंदै मालपानी समूहले संचालन गरेको उद्योगले श्रम शोषण गरेको भन्दै मजदुरहरु आन्दोलनमा छन्। मालपानी समूहले सरकारी निकाय र मन्त्रालयले जारी गरेको निर्देशनको समेत पालना गरेको देखिंदैन। उनीहरुको रबैयामा राज्य संयन्त्र मुकदर्शक बन्नेगरेको छ। राज्य संयन्त्र मुकदर्शक बन्नुको कारण सेटिङमास्टरका नाईके भनेर चिनिने दिपक भट्ट भएको स्रोतको दाबी छ। मालपानी समूहको गैह्रकानुनी धन्दामा सेटिङ्ग मिलाउने सर्तमा दिपक भट्टलाई मालपानी समूहले आफ्ना उद्योगहरुमा करोडौं रुपैयाँ बराबरको सेयर दिएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com