काठमाडौं । नवगठित अन्तरिम सरकारमा कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ।
घिसिङले शीतलनिवासमा तीनै मन्त्रालयको पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सिधै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा मृत्यु भएकाहरूको शव त्यहीँ राखिएको छ। घिसिङले मृतकका परिवारसँग भेटेर शोक सान्त्वना दिएका छन्।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङलाई आमजनतामा उनको व्यवस्थापकीय क्षमताका कारण लोकप्रिय मानिन्छ। उनले लोडसेडिङ अन्त्य गरेर देशभर विद्युत् वितरण सुधार्ने कार्य गरेका थिए, तर केही महिनाअघि तत्कालीन केपी ओली सरकारले उनलाई प्राधिकरणबाट हटाएको थियो। उनका स्थानमा हितेन्द्रदेव शाक्य नियुक्त भएका थिए।
हालको मन्त्रिपरिषदमा घिसिङ दोस्रो वरीयतामा रहेका छन्। पहिलो वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल र तेस्रो वरीयतामा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल रहेका छन्। बाँकी मन्त्रालयमा मन्त्री नियुक्तिका लागि छलफल जारी छ।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया