काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कार्यालय जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि खण्डहर बनेको छ। सोमबार महासचिव शंकर पोखरेलसहितका नेताहरूले क्षतिग्रस्त मुख्यालयको अवलोकन गर्दै पार्टी संरचना पुनर्निर्माण अभियान सुरु गर्न कार्यकर्तालाई आह्वान गरेका छन्।
अवलोकनपछि महासचिव पोखरेलले देशभरका भत्किएका पार्टी कार्यालय पुनःनिर्माण गर्न कार्यकर्तालाई अपिल गर्दै सरकारी संयन्त्रसँग सहकार्य गरी सार्वजनिक संरचनाको पुनःनिर्माणमा समेत सक्रिय योगदान दिन निर्देशन दिएका छन्।
संविधान दिवस असोज ३ गते पार्टी केन्द्रीय कार्यालयमै रहेको खरानीको थुप्रोबाट मनाइने घोषणा पनि पोखरेलले गरेका छन्। उनले भने, २०७२ साल असोज ३ गते लामो सङ्घर्षपछि संविधान प्राप्त भएको हो। त्यसैले एमालेले यस वर्ष संविधान दिवस खरानीकै थुप्रोबाट मनाउनेछ। उपत्यकामा कार्यक्रम केन्द्रीय कार्यालयको प्राङ्गणमै हुनेछ भने देशभरका जिल्लामा समेत आयोजना गरिनेछ।
वर्तमान सरकारलाई अन्तरिम भन्दै पोखरेलले सुशासन र भ्रष्टाचारविरुद्धका कदममा एमालेले सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, सुरक्षाको वातावरण सुनिश्चित गरी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व हुने विश्वास व्यक्त गरे।
उनले लोकतान्त्रिक शक्तिहरू अब जनतामाझ गएर अभिमत लिनुपर्ने अवस्था आएको उल्लेख गर्दै सडक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संविधानमार्फत संस्थागत गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया