काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टी रूपान्तरण प्रस्ताव राजनीतिक दृष्टिले ठिक रहेको टिप्पणी गरेका छन्।
बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै पुनले पार्टीलाई आम रूपमा राजनीतिक, वैचारिक र नेतृत्व प्रणालीमा नयाँ उचाइमा लैजान अध्यक्षको प्रस्ताव उचित भएको बताएका हुन्। उनले भने, ‘पार्टी आम रूपमा रूपान्तरण हुनुपर्छ। राजनीतिक र वैचारिक रूपमा नयाँ उचाइमा जानुपर्छ। कार्यशैली र नेतृत्व प्रणालीमा क्रमभंग गरिनुपर्छ भन्ने अध्यक्षको प्रस्ताव ठीक छ। महाधिवेशनमार्फत बहस गर्दै अघि बढाउनुपर्छ।’
उपमहासचिव पुनले सबै पदाधिकारीमा त्याग र समर्पणको भावना रहेको उल्लेख गर्दै, यसलाई शंका–उपशंकासँग हेर्न नहुने धारणा राखे। उनले भने, ‘क्रमभंग गरौं भनेर अध्यक्षले पहल गर्नुभएको छ। हामी पदाधिकारीहरू त्याग गर्न तयार छौं। तर कुन विधि अपनाउने र बीचमा आन्दोलन छाड्ने कुरा हुनुहुँदैन।’
पुनले प्रचण्डको कार्यकारी भूमिका छोड्ने निर्णयलाई समाजवादी आन्दोलन वा साम्राज्यवादविरुद्धको संघर्ष छोड्ने होइन भनेर स्पष्ट पारे। उनका अनुसार यो केवल भूमिकाको परिवर्तन हो र सकारात्मक बहसको माध्यमबाट विचारधाराका आधारमा क्रमभंग गर्नुपर्ने हो।
माओवादी केन्द्रको बैठकमा हाल समूहगत छलफल सकिएपछि पदाधिकारीहरूले आफ्ना धारणा राखिरहेका छन्।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया