काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा देखिएको भनिएको पैसाबारे सरकारले छानबिन गर्नुपर्ने बताएका छन्।
शनिबार मकवानपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जालमा देखिएको प्रचारमात्रैमा भर पर्नुभन्दा घटनालाई सत्यतथ्यसहित टुंग्याउन अनुसन्धान अपरिहार्य भएको टिप्पणी गरे।
‘कि त बुढानीलकण्ठ निवासले आफैं जवाफ दिनुपर्छ— त्यो पैसा आफ्नो हो कि होइन भनेर। नभए सरकारले तुरुन्तै छानबिन सुरु गर्नुपर्छ। अवैध सम्पत्ति भेटिएको खण्डमा सबैको सम्पत्तिको छानबिन हुनुपर्छ,’ शर्माले भने।
उनले अवैध सम्पत्ति छानबिनको प्रक्रिया आफैँबाट सुरु गर्न तयार रहेको पनि बताए। देउवा निवासमा पैसासँगै सुनको समेत चर्चा सार्वजनिक भइरहेकाले त्यसमाथि पनि निष्पक्ष अनुसन्धान आवश्यक भएको उनको भनाइ छ।
गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले देउवा निवासमा आगजनी गरेका थिए। सो क्रममा निवासभित्र पैसाको थुप्रो जलिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक बहस सुरु भएको थियो।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया