काठमाडौं । जेन–जी आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थिति र दलभित्रको बदलिँदो समीकरणबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सम्मानजनक रूपमा पदबाट अवकाश लिने तयारीमा पुगेका छन्।
आन्दोलनका क्रममा भदौ २४ गते भौतिक आक्रमणको शिकार बनेका देउवाले विशेष महाधिवेशनको माग उठे पनि त्यसलाई टार्दै पार्टीको नियमित, अर्थात् आवधिक महाधिवेशनको तयारी अघि बढाउने निर्णय लिएका हुन्। यसैक्रममा उनले महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग परामर्श थालेका छन्। दुवै महामन्त्री देउवाको प्रस्तावप्रति सकारात्मक रहेको स्रोतले जनाएको छ।
देउवाले आसन्न आवधिक महाधिवेशनपछि नेतृत्वमा दाबी नगर्ने र यही प्रक्रिया हुँदै पार्टीबाट सम्मानपूर्वक विदा लिने इच्छा व्यक्त गरेका छन्। यस विषयमा बुधबार दुवै महामन्त्रीसँग विस्तृत छलफल हुने तय भएको छ।
नेपाली कांग्रेसको विधानअनुसार १५औं नियमित महाधिवेशन मंसिरभित्र सम्पन्न हुनुपर्ने प्रावधान छ। यदि फागुन २१ गते मध्यावधि निर्वाचन हुने अवस्था आयो भने देउवा त्यस अवधिसम्म सभापतिको जिम्मेवारी वहन गरेर त्यसपछि महाधिवेशनमार्फत नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पने तयारीमा छन्।
कांग्रेसले असोज २६ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठकमा विशेष महाधिवेशनका लागि संस्थापनइतर समूहले संकलन गरेको ४० प्रतिशत हस्ताक्षर पेश गर्नुअघि नै देउवाले आवधिक महाधिवेशनको प्रस्ताव टेबुल गर्ने सम्भावना रहेको बताइएको छ।
देउवानिकट एक नेताका अनुसार, ‘उनको कार्यकाल अब सकिनै लागेको हो। पार्टी महाधिवेशन हुने नै छ। उहाँले लामो समय नेतृत्वमा बस्ने मनस्थिति बनाएको छैन। त्यसैले अब कांग्रेसमा अपमान होइन, सम्मानका साथ नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढ्नेछ।’
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया