काठमाडौं । देशको राजनीतिक गतिरोध र नेतृत्वप्रतिको असन्तुष्टिबीच ३० जना नागरिक अगुवाहरूले प्रमुख दलका शीर्ष नेताहरूलाई नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिएर स्वेच्छिक अवकाश लिन आग्रह गरेका छन्।

बुधबार जारी संयुक्त विज्ञप्तिमा उनीहरूले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका सभापति तथा अध्यक्षहरूले हालसम्मको अवस्थाको जिम्मेवारी लिँदै क्षमायाचनासहित पद त्याग गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ । यो केवल कुनै दल विशेषको औचित्यका लागि मात्र होइन, लोकतन्त्र, दलीय प्रणालीको भविष्य र दलहरूको जनउत्तरदायित्व सुनिश्चित गर्न पनि अनिवार्य कदम हो।

advertisement

नागरिक अगुवाहरूले विशेष रूपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनीहरूबाट स्वेच्छिक अवकाशको अपेक्षा व्यक्त गरेका छन्।

संयुक्त वक्तव्यमा अर्चना थापा, चरण प्रसाई, मीना पौडेल, इन्द्र अधिकारी, चन्द्रकिशोर, रजनी ढकाल, उद्धव प्याकुरेल, झलक सुवेदी, राजाराम गौतम, उत्तमबाबु श्रेष्ठ, दिनेश त्रिपाठी, लोकराज बराल, कसमस विश्वकर्मा, दीपेश घिमिरे, विद्याधर मल्लिक, कृष्ण खनाल, दोभान राई, विनोद सिंजापति, केदारभक्त माथेमा, तारानाथ दाहाल, संगीता लामा, केशव दाहाल, तुलानारायण शाह, सञ्जीव उप्रेती, खगेन्द्र संग्रौला, भोजराज पोखरेल, श्रवण मुकारुङ, गेजा शर्मा वाग्ले, मुमाराम खनाल र युग पाठकको नाम समावेश छ।

त्यस्तै, उनीहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक दलहरू र जेन–जी आन्दोलनकारीहरूसँग संवादमार्फत विश्वासको वातावरण निर्माण गरी समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने माग पनि गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,’संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र लोकतान्त्रिक अभ्यासको निरन्तरताका लागि निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नु राष्ट्रिय दायित्व हो। त्यसका लागि सरकारले सबै पक्षसँग संवाद गरी विश्वसनीय र अनुकूल वातावरण तयार पार्नुपर्छ।’

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com