काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशन मिति र स्वरूपबारे स्पष्ट निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी बैठक लम्बिएको छ। युवा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच ‘पुसभित्रै महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने’ भन्ने विषयमा मतभेद गहिरिँदै गएको छ।
आइतबार बस्ने केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा धोबीघाटस्थित एक होटलमा पदाधिकारी बैठक जारी छ। तर महाधिवेशनको कार्यतालिका र मिति निर्धारणबारे दुवै पक्षबीच सहमति हुन सकेको छैन।
शनिबारको बैठकमा समेत सहमति नजुटेपछि कार्यवाहक सभापति खड्काले पुनः छलफल बोलाएका हुन्। बैठकमा महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिमा पेश गर्ने वा नपेश गर्ने भन्ने विषय मुख्य विवादको केन्द्रमा छ।
महामन्त्री गगन थापाले कार्यतालिका प्रस्तुत नभए आफू केन्द्रीय समिति बैठकमा सहभागी नहुने चेतावनी दिएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्।
यस विपरीत, सभापति शेरबहादुर देउवा पक्षले भने आगामी वैशाखको अन्तिमतिर नियमित महाधिवेशन गर्न सकिने अडान लिएको छ।
त्यसैबीच, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका छन्। सो माग लिएर नेताहरू गुरूराज घिमिरेलगायतले शनिबार कार्यवाहक सभापति खड्कासँग सानेपामा भेट गरेका थिए।
यदि विशेष महाधिवेशनको माग सम्बोधन नभए मंगलबार छुट्टै भेला बोलाउने तयारी भइरहेको नेताहरूले जनाएका छन्। यस्तो कदमले पार्टीभित्रको मतभेद झनै सतहमा आउने चेतावनी दिइएको छ।
पार्टीभित्र बढ्दो असहमतिको बीच कार्यवाहक सभापति खड्का र संस्थापन पक्ष मध्यमार्गी निचोड खोज्दै केन्द्रीय समिति बैठकलाई निरन्तरता दिने तयारीमा रहेका छन्।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया