काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक शक्ति गठनको अन्तिम तयारी थालेका छन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्री समेत रहेका घिसिङ ‘उज्यालो नेपाल पार्टी’ नामक नयाँ पार्टी दर्ताका लागि मंगलबार निर्वाचन आयोग जान लागेका हुन्।

आयोगमा जानुअघि घिसिङको टोलीले रास्वपा परित्याग गरेकी निवर्तमान सांसद सुमना श्रेष्ठ र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङसँग अन्तिम छलफल गरिरहेको स्रोतले जनाएको छ। घिसिङका निकट सहयोगी जितराम लामाका अनुसार सुमना र गुरुङ पक्षसँग सहमतिको अन्तिम प्रयास भइरहेको छ।

advertisement

लामाले भने, आइतबार र सोमबार भएको छलफलमा केही विषयमा असहमति रहे पनि आज पुनः सहमतिको प्रयास भइरहेको छ। सहमति जुटेमा आजै संयुक्त रूपमा आयोगमा पार्टी दर्ताका लागि जाने तयारी छ।

यसअघि घिसिङ, सुमना र सुदनले एउटै पार्टी निर्माण गर्ने प्रारम्भिक योजना बनाएका थिए, तर पार्टीको नाम र नेतृत्व व्यवस्थापनमा मतभेद भएपछि सुमना श्रेष्ठ अलग भएकी थिइन्।

हाल घिसिङ मन्त्री पदमा रहेकाले तत्काल पार्टीको प्रत्यक्ष नेतृत्व नलिने तयारीमा छन्। प्रारम्भिक चरणमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गरिने योजना बनाइएको स्रोतले जनाएको छ।

‘उज्यालो नेपाल पार्टी’को चुनाव चिन्हका रूपमा बिजुलीको चिम प्रस्ताव गरिएको छ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com