काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा सतर्कता उच्चस्तरमा राख्न सरकारले नेपाली सेना परिचालन गर्ने प्रक्रिया अघि बढाएको छ। राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस अनुसार सरकारले उक्त निर्णय मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गर्ने तयारी गरेको हो।

बिहीबार सिंहदरबारमा बसेको परिषद्को ४१औँ बैठकले संविधानको धारा २६६(१) अनुसार सेना उपयोग गर्नुपर्ने निष्कर्ष निकाल्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्था सुदृढ गर्ने निर्णय गरेको हो।

advertisement

बैठकमा परिषद्को आठौँ वार्षिक प्रतिवेदनसम्बन्धी मस्यौदामाथि छलफल गरी आवश्यक संशोधनसहित स्वीकृत गरिएको र चाँडै राष्ट्रपति समक्ष बुझाउने तयारी भएको सचिवालयले जनाएको छ। परिषद्का सदस्य–सचिव तथा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले प्रतिवेदन स्वीकृत भइसकेको पुष्टि गरेका छन्।

बैठकमा राष्ट्रिय सुरक्षामा देखिन सक्ने सम्भावित जोखिम, भूराजनीतिक परिवर्तनले पार्न सक्ने प्रभाव, र आगामी दिनमा अपनाउनुपर्ने रणनीति लगायतका विषयमा विस्तृत समीक्षा तथा छलफल भएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतका उच्च अधिकारीहरूको सहभागिता थियो।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com