काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय उठेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषय उठेको हो ।
संस्थापनइतर नेताहरूले भण्डारीको सदस्यताको निर्णय गरेर जानुपर्ने माग राखेका थिए । उनको सदस्यता नवीकरण गर्नुपर्ने कुरा आजको बैठकमा पनि भयो । पहिलेको निर्णय सच्चाउनुपर्ने माग हामीले राख्यौँ, संस्थापनइतर एक पदाधिकारीले भने ।
तर, त्यस विषयमा अध्यक्ष केपी शर्मा ओलीले कुनै जवाफ नै दिएनन् । आज उनले त्यो विषय इग्नोर नै गर्नुभयो,एक पदाधिकारी भन्छन्, उनले कुनै जवाफ दिएन ।
भण्डारीको सदस्यता नवीकरणको निर्णय पुनर्विचार गर्नुपर्ने माग एमाले बैठकमा उठ्दै आएको छ । सचिवालयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताले भण्डारीलाई सदस्यता दिनुपर्ने धारणा राख्दै आएका छन् । अघिल्ला बैठकमा भण्डारीसँगै कुराकानी गर्ने भन्दै ओली पन्छिदै आएका थिए । आजको बैठकमा भने इग्नोर गरेको एक पदाधिकारीले बताए ।
प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया