गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा ती पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम जम्मा नौ हजार ३५९ पर्यटक यस क्षेत्रमा भित्रिएको आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिए । फेब्रुअरीमा १२ हजार ६८ जना, मार्चमा ३६ हजार आठ सय ३४, मेमा ३४ हजार सात सय १६, जुनमा २६ हजार आठ, जुलाईमा १४ हजार २३३, अगस्टमा १२ हजार १३२, सेप्टेम्बरमा १९ हजार ३८६, अक्टोबरमा ३७ हजार ७६ र नोभेम्बरमा २७ हजार ७१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।

advertisement

सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेकामा सन् २०२५ को पर्यटक आगमन बढेको हो । गत सेप्टेम्बर र मेमा अघिल्लो वर्षको तुलनामा केही कम पर्यटक आए पनि अन्य महिनामा भने गत वर्षको तुलनामा बढी पर्यटक आएको आयोजना प्रमुख डा कडरियाले बताए । जाडो याम सुरु भएसँगै पर्यटक आगमन घट्ने र मार्चपछि पुनः पर्यटक बढ्ने उनको भनाइ छ ।

यस क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्ममा विदेशी पर्यटकको आगमन वृद्धि हुने गरेको छ । सडक मार्ग भएर यस क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गर्ने पर्यटकको सङ्ख्या पनि सोही याममा बढी हुने गर्छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् ।

आयोजना कार्यालयले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङलगायत गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दो छ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्ने गरेको छ । आयोजना कार्यालयको तथ्याङ्कअनुसार सन् २०२३ मा एक लाख ९१ हजार ६६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२० मा जम्मा १८ हजार ८३६ पर्यटक आएकामा त्यसयता बर्सेनि पर्यटक आगमनमा वृद्धि भइरहेको हो ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ ।

 

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com