जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनले मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहेका छन्।

मंसिर १९ गते कांग्रेस संसदीय दलका नेताका रूपमा सात दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनसहित यादव मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई कांग्रेससँगै जसपा नेपाल, जनमत पार्टी, तत्कालीन नेकपा (माओवादी केन्द्र), लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरूको समर्थन प्राप्त छ।

advertisement

यसअघि संविधानको धारा १६८(३) अनुसार ठूलो दलका नेताका रूपमा नियुक्त भएका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि प्रदेश सरकारको नेतृत्व कांग्रेसका यादवको हातमा आएको हो।

कार्तिक २३ गते राति एमालेका यादव मुख्यमन्त्री नियुक्त भएपछि सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा दिएको रिटमा सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। विश्वासको मत नपाए संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन गर्ने मार्ग खुलेको थियो।

प्रदेशसभामा सम्बोधन गर्दै सरोज यादवले राजीनामा घोषणा गरेपछि गठबन्धनले सर्वसम्मत रूपमा कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको हो। उनले आजै सानो आकारको प्रारम्भिक मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com