काठमाडाैं । धनुषामा नाबालिगप्रति गरिएको आपराधिक कृत्यमा संलग्न रहेको आरोपमा एमाले नेता शिवशंकर (हिरा) साहलाई भारतको बिहार, सीतामढीबाट पक्राउ गरी नेपाल ल्याइएको छ। पीडित पक्षको उजुरीपछि जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको जानकारी पाएपछि साह भारततर्फ फरार भएका थिए।
धनुषा प्रहरीका प्रवक्ता डीएसपी गणेशबहादुर बमका अनुसार भारतीय सुरक्षासँगको समन्वयमा साहलाई नियन्त्रणमा लिइएको हो।
यसै प्रकरणमा पीडित पक्षमाथि दबाब सिर्जना गर्दै रकम लिएको आरोपमा नाबालिगकी मामालाई पनि जनकपुरधामबाट पक्राउ गरिएको छ। प्रहरीका अनुसार उनीविरुद्ध छुट्टै अनुसन्धान अघि बढाइएको छ।
घटना जनकपुरधाम–११ स्थित एक होटेलमा भएको थियो, जहाँ नाबालिगलाई अवैध रूपमा रोकिएको र आपराधिक व्यवहार भएको बताइएको छ।
यसअघि नै मनोजकुमार साह नामक युवकलाई काठमाडौंबाट पक्राउ गरी धनुषा ल्याइएकामा उनको बयानका आधारमा हिरा साहसहित तीन जनामाथि मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। तीमध्ये दुई जना अझै फरार छन्।
धनुषाका प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरका अनुसार यो गम्भीर प्रकृतिको अपराध भएकाले राजनीतिक पहुँच वा दबाबका आधारमा कसैलाई छुट नदिइने तथा सबैलाई कानुनी कारबाहीमा ल्याइनेछ।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार












प्रतिक्रिया