काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आज हुने भनिएको नेतृत्व चयनको मतदान ढिलाइ भएकोमा चिन्ता व्यक्त गरेका छन्।
महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले भने, ‘राति हुँदा अप्रिय घटना हुन सक्ने हाम्रो आशङ्का छ। यद्यपि हामी सचेत छौँ। कुनै अप्रिय घटना नघटी मतदान प्रक्रिया सकियोस् भन्ने मेरो कामना छ।’
उनका अनुसार निर्वाचन आयोगले मतदान अपराह्न ५ बजेसम्म सुरु गर्न निर्देशन दिएको भए पनि समयमै मतदान सुरु हुन नसकेको छ। भट्टराईले बताए, ‘निर्वाचन आयोगको भनाइ अनुसार ५ बजे मतदान हुने तय थियो। तर हालको अवस्था अनुसार अब राति मतदान सुरु हुन सक्ने देखिन्छ। अर्को तर्फ, आजको दिन हाम्रो लागि मात्र छुट्टाइएको छ, भोलिबाट स्थान अन्य पार्टीको प्रयोगमा जानेछ। त्यसैले आजै मतदान सक्नुपर्ने बाध्यता छ।’
भट्टराईले पार्टी नेतृत्व हस्तान्तरण सहज बनाउने प्रयास भए पनि पूर्वनिर्धारित प्रक्रिया सफल नभएको र त्यसैले निर्वाचनमार्फतै नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको बताए। उनले भने, ‘पार्टीमा सहज नेतृत्व हस्तान्तरण गरौँ भन्ने हाम्रो पहल थियो। तर निर्वाचनअघि त्यो सम्भव भएन। अब निर्वाचनमार्फत मात्र नेतृत्व हस्तान्तरण सम्भव देखिन्छ। मैले धेरैसँग कुरा गरेको छु र बुझें, उनीहरू नवीकृत नेकपा एमाले चाहन्छन्।’
त्यसैगरी, उनले पार्टी नेतृत्व केन्द्रित रहेको र जनताप्रति ध्यान नदिएको अवस्था दोहोरिएमा भदौ २३–२४ जस्ता घटना फेरि हुन सक्ने चेतावनी पनि दिए।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया