काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले आफ्नै सरकार र राजनीतिक दलका नेताहरूको कार्यशैलीप्रति आलोचना गरेका छन्।

सोमबार सिंहदरबारमा निर्वाचन आयोग, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूबीच भएको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री पुनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने सवालमा सरकार र नेताहरूको ढंग नदेखिएको टिप्पणी गरेका हुन्।

advertisement

बहालवाला मन्त्री भए पनि पुनले सरकारको लाचारीपनलाई खुलेरै प्रहार गरे। उनले भने, ‘विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन। यहाँको सरकारको पनि र यहाँको नेताहरूको पनि ढंग देखिएन।’

उनले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो अधिकारका लागि आ-आफ्नो क्षेत्रबाट दबाबमूलक अभियान चलाउन समेत सुझाव दिए।

तपाईं आफैँ मन्त्रिपरिषद्को सदस्य भएर सरकारको आलोचना गर्न मिल्छ त ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री पुनले सरकारभित्र आफ्नो आवाज सुनुवाइ नभएको सङ्केत गरे।

‘म एकजना व्यक्ति मात्र हो, क्याबिनेटको एकजना मन्त्रीको कुराले केही हुन्न,’ उनले भने, ‘अरू साथीहरूको पनि कुरा होलान्, तर कसैले राखे जस्तो लागेन। त्यही भएर नेपालीको सल्लाह, खरानीको डल्ला भनेजस्तै भयो।’

मन्त्री पुनले दिनभरको छलफल ‘खरानीको डल्ला’ सावित भएको भन्दै बैठकको औचित्यमाथि नै प्रश्न उठाए। छलफलमा जेन–जीका प्रतिनिधि र आफूबाहेक अरूले विदेशबाट मतदानको अधिकारको विषयलाई गम्भीरतापूर्वक नउठाएकोमा उनको असन्तुष्टि थियो।

यद्यपि, उनले चुनाव भने तोकिएकै समयमा शतप्रतिशत हुने दाबी गरे।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com