काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउँछु भन्ने र चर्चामा रहेका व्यक्तिहरू नै नशामा भेटिने गरेको आरोप लगाएका छन्।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।
बिहीबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने- ‘देशका चर्चित भनिएकाहरू नशामा भेटिन्छन्। चर्चामा ल्याउन खोज्नेहरु पनि छन्, त्यस्ता मान्छे पनि नशामा भेटिन्छन्,’ ओलीले भने।
उनले आफ्नो यस भनाइलाई इखका रूपमा लिएर कसैले दुर्व्यसन त्यागेमा आफू खुसी हुने समेत बताए। ‘मेरो भनाइ मन नपरेर, इख मानेर दुर्व्यसनमा भएकाहरूले छोड्नुभयो भने म धेरै खुसी हुनेछु,’ ओलीको भनाइ थियो।
अध्यक्ष ओलीले अन्य दल वा समूहको कार्यक्रम भएको भए मादक पदार्थ सेवन गरेर मारामारको स्थिति आउन सक्ने भन्दै एमालेका कार्यकर्ताहरूको भने उच्च प्रशंसा गरे।
उनले भने, ‘अरू पार्टीको कार्यक्रम हुन्थ्यो भने आपसमै मारामार हुन्थ्यो होला। कति केही तानेर, केही पिएर, के के गरेर सोत्राम परिसकेका हुन्थे होला। तर हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुर्व्यसन देखिएन।’
उनले आफू स्वयंसेवकहरूको नजिकै पुगेर नियाल्दा कसैबाट पनि खैनी वा चुरोटको गन्ध समेत नआएको दाबी गरे।
‘खैनी भन्ने चिज ओठमा लुकाएको छु भन्ने पर्छ तर परपर बास्ना छरिरहेको हुन्छ। तर कसैको छेउमा पुग्दा पनि खैनी गनाएको भेटिएन,’ ओलीले ठट्यौली शैलीमा भने, ‘सम्म पनि आएन भने अरू लागुपदार्थको त कुरै भएन।’
पछिल्लो समय युवाहरूमा सही आचरणको कमी हुनु देशकै समस्या भएको औंल्याउँदै ओलीले एमालेका स्वयंसेवकहरूले भने उच्च आदर्श र कर्तव्यपरायणता देखाएको भन्दै सन्तोष व्यक्त गरे।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया