काठमाडौं । महिनाअघि राजनीतिक र कानुनी विवाद उत्कर्षमा पुगेपछि अलग भएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एकै ठाउँमा उभिने भएका छन्। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच शनिबार औपचारिक रूपमा पार्टी एकता हुँदैछ।
यस घटनाक्रमपछि राजनीतिक वृत्त र सर्वसाधारणमा एउटै प्रश्न उठेको छ– “यदि पाँच महिनामै मिल्नु नै थियो भने किन पार्टी विभाजन गरियो?”
पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष रञ्जिता श्रेष्ठले विगतको घटनालाई पार्टी फुटेको रूपमा बुझ्न नहुने बताएकी छन्। उनका अनुसार रेशम चौधरी रहरले नभई आफ्नो राजनीतिक अस्तित्व जोगाउन बाध्य भएर नयाँ दल खोल्नुपरेको थियो।
“उहाँ नागरिक उन्मुक्ति पार्टीबाट छुट्टिएर जानुभएको होइन, आफ्नो अस्तित्व बचाउनका लागि अर्को पार्टी खोल्नुभएको हो,” रञ्जिताले भनिन्, “आखिर एउटै विचार बोकेका साथीहरू अलग–अलग बाटो हिँड्नुभन्दा एक भएर अघि बढ्नु नै उपयुक्त हुन्छ भन्ने महसुस दुवैलाई भयो।”
उनले विगतका तितामिठा अनुभव बिर्सेर एकतामा आउनुको अर्को प्रमुख कारण संगठन विस्तारमा देखिएको अवरोध पनि रहेको बताइन्।
“नयाँ परिस्थितिमा पार्टीलाई पहाडतर्फ उकाल्न सकिएन, संगठन विस्तार पनि प्रभावकारी भएन,” उनले भनिन्, “त्यसैले पहिलेदेखिकै सोचअनुसार मिलेरै अघि बढ्ने निष्कर्षमा पुगेका हौँ।”
२०७८ पुसमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले २०७९ को निर्वाचनमा चार सिट जित्दै राष्ट्रिय राजनीतिमा उदय गरेको थियो। तर रेशम चौधरी जेलमुक्त भएपछि २०८० पुसमा सम्पन्न महाधिवेशनसँगै पार्टीभित्र विवाद चर्कियो। महाधिवेशनबाट रेशम अध्यक्षमा निर्वाचित भए पनि निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै वैधानिक अध्यक्षको मान्यता दिएको थियो।
श्रीमान्–श्रीमतीबीचको यो विवाद उग्र बन्दै जाँदा सुदूरपश्चिम प्रदेश सरकार निर्माणदेखि केन्द्रसम्म गुटगत राजनीति हाबी भयो। एक–अर्कामाथि कारबाही गर्ने क्रम चल्यो र अन्ततः भदौ २९ गते रेशम चौधरी पार्टीबाट अलग भए। त्यसपछि कात्तिक २ गते उनले ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठन गरेका थिए।
तर अहिले आएर रञ्जिता श्रेष्ठले रेशम चौधरीको नेतृत्व स्वीकार गर्दै पार्टी एकताको निर्णय गरेकी छन्। शनिबार हुने एकतापछि पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नै रहनेछ। साथै झण्डा र चुनाव चिह्न पनि रेशमले दर्ता गरेको नयाँ पार्टीकै कायम रहने जनाइएको छ।
यसअघि नै रेशम चौधरी नेतृत्वको पार्टीले राजेन्द्र महतो र अशोक राईसँग चुनावी गठबन्धन गर्ने सहमति गरिसकेको छ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया