काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी एकताका लागि ६०/४० को भागबन्डा प्रस्ताव अघि सारेको छ। बिहीबार राति अबेरसम्म ललितपुरको ज्वागलमा बसेको बैठकमा रास्वपाले त्रिपक्षीय भागबन्डासहितको एकता प्रस्ताव गरेको हो
स्रोतका अनुसार रास्वपाले केन्द्रीय समिति र आगामी निर्वाचनमा ४० प्रतिशत हिस्सा राख्ने प्रस्ताव गरेको छ। बाँकी ६० प्रतिशतमा कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई २५/२५ प्रतिशत तथा १० प्रतिशत Gen-Z समूहलाई दिने प्रस्ताव गरिएको बताइएको छ।
भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अगाडि सार्ने विषयमा रास्वपा सभापति रवि लामिछाने सकारात्मक देखिएका छन्। यद्यपि पदाधिकारी बाँडफाँटको विषयमा भने अझै सहमति हुन बाँकी रहेको स्रोतले जनाएको छ।
“रास्वपाको तर्फबाट ४०, २५/२५ र १० प्रतिशतको भागबन्डा प्रस्ताव गरिएको छ। भावी प्रधानमन्त्रीको विषयमा रविजी सकारात्मक हुनुहुन्छ। पदाधिकारी पछि टुङ्गो लगाउने भनिए पनि बालेनजीले त्यसलाई स्वीकार गर्नुभएको छैन। कुलमानजीको विषयमा भने हिजो राति १० बजे नै सहमति भइसकेको छ,” स्रोतले भन्यो।
एकता सहमतिलाई अन्तिम रूप दिन रास्वपाका राजनीतिक संवाद समितिका सहसंयोजक शिशिर खनाल र बालेन पक्षबाट कुमार बेनबीच छलफल भइरहेको छ। तर उनीहरू बसेको स्थान दुवै पक्षले गोप्य राखेका छन्।
तीनै पक्षबीच निर्णायक सहमतिका लागि आज बेलुका पुनः बैठक बस्ने तयारी छ। रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच सहमति जुटे आजै एकतासम्बन्धी सम्झौतामा हस्ताक्षर हुने दाबी स्रोतले गरेको छ।
तर बालेन पक्षले शक्ति सन्तुलन स्पष्ट रूपमा सुनिश्चित हुने आधारमा मात्र सहमति हुन सक्ने बताएको छ। रास्वपाको प्रस्तावलाई सकारात्मक रूपमा लिइए पनि ठुलो पार्टी भएको अवस्थामा शक्ति सन्तुलन कसरी कायम गर्ने भन्नेमा ठोस प्रस्ताव नआएको उनीहरूको भनाइ छ।
“रास्वपाले प्रधानमन्त्री प्रस्ताव गरिसकेको छ। पार्टी एकता भएपछि स्वाभाविक रूपमा पावर ब्यालेन्सको कुरा आउँछ, त्यसबारे छलफल भइरहेको छ,” बालेन निकट स्रोतले भन्यो, “बेलुकासम्म निचोड निस्कन्छ। अहिले दुवै पक्षका दोस्रो तहका नेताहरू गृहकार्यमा जुटेका छन्। आज काठमाडौँ महानगरपालिकाको नगरसभा पनि भएकाले नगरसभा सकिएपछि बैठक बस्ने तयारी छ।”
यता कुलमान घिसिङले भने रवि लामिछानेसँग एकताको विषयमा कुनै छलफल नभएको दाबी गरेका छन्। उज्यालो नेपालका संरक्षकसमेत रहेका घिसिङले भने, “रविजी र बालेनबीच के भयो, मलाई थाहा छैन। तर मसँग भने यस विषयमा कुनै कुरा भएको छैन।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया