काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचन सम्बन्धी छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच शीतल निवासमा भेटवार्ता भएको थियो। त्यसको निरन्तरता स्वरुप प्रधानमन्त्री कार्की आज फेरि तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन्।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर निर्वाचनको लागि अनुकूल वातावरण सिर्जना गर्न आग्रह गरेका थिए। मन्त्री खरेलले शनिबार दिउँसो ४ बजे प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय गरेको जानकारी दिएका छन्।
यसअघि मन्त्री खरेल र कानुन मन्त्री अनिलकुमार सिन्हाले विभिन्न राजनीतिक दलका कार्यालयमा गएर जेनजी आन्दोलनका क्रममा भएका क्षतिहरूको अनुगमन गरेका थिए। पुस ८ र ९ गते एमाले, कांग्रेस, नेकपा माओवादी, रास्वपा, राप्रपा र जनमतलगायत दलका कार्यालयमा गएर स्थलगत निरीक्षण गरेका मन्त्री खरेलले त्यसपछिको समयमा प्रमुख दलका नेतासँग भेटेर निर्वाचनको लागि अनुकूल वातावरण बनाउने प्रयासलाई निरन्तरता दिएका छन्।
सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेको भए पनि दलहरूले शान्ति सुरक्षा लगायतका विषयमा प्रश्न उठाइरहेका छन्। विशेषगरी नेकपा एमालेले यसबारे चासो देखाएको अवस्थामा सरकारका मन्त्रीहरूले पार्टी कार्यालय र नेतासँग भेटेर निर्वाचनको वातावरण तयार पार्ने प्रयास गरिरहेका छन्।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया