काठमाडौं । नेपालमा रहेका तिब्बती शरणार्थीहरू हाल व्यापक डिजिटल निगरानीको घेरामा परेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एपी (एसोसिएटेड प्रेस) ले सार्वजनिक गरेको अनुसन्धानात्मक रिपोर्टले नेपालमा चीनबाट आपूर्ति गरिएका हजारौँ सीसीटीभी क्यामेरामार्फत तिब्बती समुदायका गतिविधि निगरानी भइरहेको खुलासा गरेको छ।

चिनियाँ दमनबाट बच्दै नेपाल आएका तिब्बतीहरूका लागि सुरक्षित आश्रय मानिएको देशमा पछिल्ला वर्षहरूमा निगरानी प्रविधि तीव्र रूपमा विस्तार भएको रिपोर्टमा उल्लेख छ। एपीको यो रिपोर्ट वासिङ्टन पोस्टमा डिसेम्बर २० मा प्रकाशित भएको हो।

advertisement

रिपोर्टअनुसार नेपालसहित विश्वका कम्तीमा १५० देशमा चीनले निगरानी प्रविधि निर्यात गर्दै आएको छ। सस्तो र प्रविधियुक्त प्रहरी प्रणालीमार्फत चीनले अन्तर्राष्ट्रिय प्रभाव विस्तार गरिरहेको बताइएको छ। यी प्रविधिका कारण नेपालमा कहिल्यै सक्रिय रहेको ‘फ्री तिब्बत’ आन्दोलनसमेत लगभग निष्क्रिय बनेको रिपोर्टको निष्कर्ष छ।

निगरानी कडाइसँगै नेपालमा तिब्बती शरणार्थीहरूको संख्या उल्लेख्य रूपमा घटेको छ। सीमामा कडाइ भएपछि अहिले वर्षमा थोरै व्यक्तिमात्र नेपाल प्रवेश गर्न सक्ने अवस्था रहेको जनाइएको छ। शरणार्थी परिचयपत्र नहुँदा धेरै तिब्बतीहरू रोजगारी, बैंकिङ सेवा तथा आवतजावतजस्ता आधारभूत अधिकारबाट वञ्चित हुँदै आएका छन्।

मानवअधिकारकर्मीहरूका अनुसार मन्दिर, सडक र सीमाक्षेत्रसम्म फैलिएको क्यामेरा निगरानीले तिब्बती समुदायलाई खुलेर बोल्न र गतिविधि गर्न कठिन बनाएको छ। एक तिब्बती शरणार्थीको भनाइ उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, अब तिब्बती पहिचान निजी दायराभित्र मात्र सीमित हुँदै गएको छ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com