काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेकपा एमालेको ११औँ महाधिवेशनले नवयुवाको भावना र ‘मुभमेन्ट’ लाई बुझेर सम्बोधन गरेको बताएकी छन्।
मंगलबार राजधानीमा मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।
उनले युवाहरूलाई राजनीतिमा ल्याउनुपर्छ र प्रोत्साहन गर्नुपर्छ भन्ने कुरा धेरैले नारा र भाषणमा सीमित राखे पनि एमालेले त्यसलाई व्यवहारमै उतारेको उल्लेख गरिन्। ‘एमालेले ११औँ महाधिवेशनमा छुट्टै “अन्डर ४०” क्लस्टर बनाएर युवाहरूलाई केन्द्रीय नेतृत्वसम्म ल्याउन सफल भयो,’ उनले भनिन्, ‘प्रतिनिधि चयनदेखि नेतृत्व छनोटसम्म युवाको सहभागिता सुनिश्चित गरियो। म आफैँ पनि त्यही क्लस्टरबाट विजयी भएँ।’
क्लस्टरको व्यवस्थाले पार्टीभित्रका युवालाई मात्र नभई देशभरका युवालाई समेत हौसला दिएको उनले बताइन्। साथै, एमालेले गरेको यो अभ्यास एमालेका लागि मात्र नभई अन्य राजनीतिक दलहरूका लागि पनि उदाहरणीय बनेको उनको भनाइ थियो।
महाधिवेशनमा देशभरिका प्रतिनिधिसँग भएका छलफल, अनुभव र विचार सुन्दै जाँदा पार्टीप्रति आफू अझ विश्वस्त बनेको र थप ऊर्जा प्राप्त भएको पनि उनले सुनाइन्।
देशको अस्तित्व जोगाउन राष्ट्रवादी चिन्तन, योजना र व्यवहार आवश्यक रहेको उल्लेख गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिइन्।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार













प्रतिक्रिया