काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची पार्टीभित्रै तीव्र विवादमा परेको छ। समानुपातिक उम्मेदवार छनोटका लागि गरिएको प्राइमरी इलेक्सनलाई बेवास्ता गरिएको आरोप लागेपछि पार्टीका नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाउन थालेका छन्।
केही नेताहरूले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आपत्ति जनाइरहेका छन्। रास्वपाकी केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. तोसिमा कार्कीले बन्दसूचीप्रति खुलेर असहमति जनाउँदै प्राइमरी इलेक्सनको ‘धज्जी उडाइएको’ टिप्पणी गरेकी छन्। उनले पदाधिकारी र सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट नाम फिर्ता लिनुपर्ने धारणा राखेकी छन्।
फेसबुकमा लेख्दै डा. कार्कीले पार्टी नेतृत्वका आफन्त र महत्वपूर्ण पदमा रहेकाहरू नै समानुपातिक सूचीमा आकांक्षी भएर अग्रपंक्तिमा स्थान सुरक्षित गरिनु समानुपातिक प्रणालीकै औचित्यमाथि प्रश्न उठाउने विषय भएको उल्लेख गरेकी छन्। उनका अनुसार सचिवालय र पदाधिकारीहरू सधैँ ‘पोजिसन अफ बेनिफिट’ मा रहने भएकाले प्राइमरी मतदानदेखि मूल्यांकनसम्म प्रभाव पार्ने स्थिति रहन्छ।
उनले पार्टीको महाधिवेशन नभएसम्म पदाधिकारी र सचिवालय सदस्यहरू निर्वाचनबाट नबनेको अवस्थामा पनि पार्टीभित्र पद सम्हाल्ने र समानुपातिक सूचिमा समेत अघि सर्ने प्रवृत्ति पुराना दलहरूभन्दा फरक नदेखिएको टिप्पणी गरेकी छन्। उच्च पदमा रहेकाहरूले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने उनको सुझाव छ।
यसैबीच, बन्दसूचीमा समावेश रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पनि सूची सच्याउनुपर्ने आवश्यकता औँल्याएकी छन्। सामाजिक सञ्जालमा उनले हतारमा भएका त्रुटिहरू सुधार गरेर अघि बढ्नुपर्छ भनेर लेखेकी छन्। प्राइमरी इलेक्सनमा महिलातर्फ दोस्रो सर्वाधिक मत पाएकी संग्रौलाको नाम बन्दसूचीमा भने खस आर्य महिलातर्फ छैटौँ स्थानमा राखिएको छ।
सभापति रवि लामिछानेसँग निकट मानिने स्वस्तिका लामिछानेले पनि बन्दसूचीप्रति असहमति जनाएकी छन्। उनले पार्टी नेतृत्वलाई लक्षित गर्दै प्राइमरी इलेक्सनको मर्म विपरीत अवस्था सिर्जना भएको र यसलाई सच्याउनुपर्ने माग गरेकी छन्। प्राइमरी इलेक्सनमा सहभागिता जनाएकी स्वस्तिकाले राम्रै मत पाएकी भए पनि अन्तिम बन्दसूचीमा समावेश हुन सकेकी छैनन्।
पार्टीभित्र उठेको यस विवादले रास्वपाको समानुपातिक उम्मेदवार छनोट प्रक्रिया र प्राइमरी इलेक्सनको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार











प्रतिक्रिया