काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशनको उद्घाटन समारोह दिउँसो १ बजे तय गरिएको छ।

उद्घाटनअघि काठमाडौंका पाँच विभिन्न स्थान—सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी र कुपन्डोलबाट जुलुस निकालिनेछ, जसले भृकुटीमण्डपमा पुगेर समापन गर्नेछ।

advertisement

विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व काठमाडौं जिल्ला सभापति सबुज बानियाँले गर्नेछन्। २०१४ सालमा मोरङमा सम्पन्न पहिलो विशेष महाधिवेशनको उद्घाटन त्यतिबेला मोरङ जिल्ला सभापतिको हैसियतले गिरिजाप्रसाद कोइरालाले गरेका थिए। सोही परम्पराअनुसार यसपटक काठमाडौंका जिल्ला सभापतिले उद्घाटन सत्रको अध्यक्षता गर्ने निर्णय गरिएको हो।

महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्न सक्ने बताइएको छ। आयोजकले सभापति गगन थापालाई पनि निमन्त्रणा दिएका छन्। तर उनी महाधिवेशनमा सहभागी हुने–नहुने विषयमा अझै निर्णय भइसकेको छैन। उनी अनुपस्थित रहे महामन्त्रीद्वयले नै उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

बन्द सत्रको अध्यक्षता पार्टीका ज्येष्ठ सदस्यले गर्ने जनाइएको छ। साथै, विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई नाम दर्ताका लागि बिहान ८ बजेदेखि नै भृकुटीमण्डपमा उपस्थित हुन आग्रह गरिएको छ।

आयोजक समितिका अनुसार देशभरिबाट करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन्। उनीहरूको बसोबासका लागि बागबजार, ठमेललगायतका क्षेत्रमा होटलको व्यवस्था गरिएको छ।

आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाका अनुसार आइतबार बेलुकाको खाना महाधिवेशन स्थलमै व्यवस्था गरिएको छ भने सोमबार बिहानको नास्ता तथा दिउँसो र बेलुकाको खानाको समेत प्रबन्ध गरिएको छ। उनका अनुसार बेलुकाको खानामा कुखुराको मासु र दिउँसोको खानामा खसीको मासु समावेश गरिएको छ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com