काठमाडौं ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको मिति नजिकिँदै जाँदा गगन थापा नेतृत्वको नेपाली कांग्रेस उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेको छ। विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि उनीहरू टिकट वितरण प्रक्रियामा सक्रिय बनेका हुन्।

यसैबीच उक्त वैधानिकताविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ। रिट दायर भइसकेको र त्यसको पेसी माघ ६ गते तोकिएको अवस्थामा पनि थापा पक्ष भने जिल्लाबाट आएका सिफारिसका आधारमा उम्मेदवार टुंग्याउने काममा केन्द्रित छ।

advertisement

थापानिकट स्रोतका अनुसार उम्मेदवार छनोटबारे गोप्य रूपमा घनिभूत छलफल भइरहेको छ। नेताहरू हात्तिसारस्थित एक होटेलमा बसेर छलफल गरिरहेका छन्। स्रोतले जनाएको अनुसार टिकट वितरणको एक चरण टुंगिसकेको छ भने अब विवादित क्षेत्रहरूको निर्णय मात्र बाँकी छ।

जिल्लाबाट सिफारिस भएर आएका नामहरूलाई नै मुख्य आधार मानेर निर्णय गर्ने तयारी थापाको रहेको बताइएको छ। साथै देउवा पक्षका केही नेताहरू पनि सम्पर्कमा आइरहेका र उनीहरूलाई समेत न्यायोचित ढंगले टिकट दिने प्रयास भइरहेको स्रोतको दाबी छ।

यसैबीच, महामन्त्री प्रदीप पौडेलले उम्मेदवार छनोटमा कुनै पूर्वाग्रह नराखिने स्पष्ट पारेका छन्। उनले सबै पक्षसँग छलफल गरेर जित्न सक्ने र स्वाभाविक रूपमा सिफारिस भएका उम्मेदवारलाई टिकट दिइने बताए। देउवा पक्षका नेताहरूसँग व्यक्तिगत रूपमा सम्पर्क गरेर प्रक्रियामा सहभागी हुन आग्रह गरिएको पनि पौडेलको भनाइ छ।

उता, डा. शेखर कोइराला गगन थापा समूहसँग नजिकिएको भन्ने चर्चाबीच उनको सचिवालयले त्यसको खण्डन गरेको छ। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार कोइरालाले गगन थापाको आधिकारिकताविरुद्ध सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरिसकेका छन्। त्यसैले थापा समूहसँग मिलेको भन्ने हल्ला निराधार रहेको उनको दाबी छ।

यद्यपि, थापानिकट स्रोतले भने शेखर कोइरालाको भूमिका पार्टीभित्र कमजोर बन्दै गएको दाबी गरेको छ।

देउवा समूहका प्रवक्ता डा. प्रकाशशरण महतले भने आधिकारिकताको विषयमा अदालतको आदेश आएपछि मात्रै थप निर्णय लिइने बताएका छन्। उनका अनुसार हाल कुनै ठोस निर्णय भएको छैन र छलफलपछि निष्कर्षमा पुगिनेछ।

देउवा पक्षले आजै गगन थापाको आधिकारिकताविरुद्ध दायर गरेको रिट सर्वोच्चमा दर्ता भएको छ भने त्यसको पेसी माघ ६ गतेका लागि तोकिएको छ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com