काठमाडौं । फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध महाभियोगको उजुरी दर्ता गरेका छन्। नक्कली बाढी नियन्त्रण परियोजनामार्फत करदाताको अर्बौं डलर दुरुपयोग गरिएको आरोप लगाउँदै बिहीबार हाउस अफ रिप्रेजेन्टेटिभको महासचिवको कार्यालयमा उजुरी दायर गरिएको हो।
निवेदनमा राष्ट्रपति मार्कोसले ‘भूत पूर्वाधार परियोजना’ को नाममा राष्ट्रिय बजेट दुरुपयोग गरी आफ्ना नजिकका सहयोगी र ठेकेदारहरूलाई फाइदा पुर्याएको आरोप लगाइएको छ। उजुरीमा पाँच खर्ब ४५ अर्ब ६० करोड पेसोभन्दा बढी बाढी नियन्त्रण कोष संस्थागत रूपमा दुरुपयोग गरिएको तथा सन् २०२५ को मध्यावधि निर्वाचनका लागि सार्वजनिक कोष निजी राजनीतिक प्रयोजनमा प्रयोग गरिएको उल्लेख छ।
वामपन्थी दलहरूको गठबन्धन मकाबायन ब्लकको समर्थनमा दर्ता गरिएको उजुरीमा राष्ट्रपतिले ठेक्कापट्टाबाट प्रत्यक्ष घुस मागेको आरोप पनि समावेश गरिएको छ, यद्यपि उक्त आरोप प्रमाणित नभएका दाबीमा आधारित रहेको जनाइएको छ।
राष्ट्रपति मार्कोसले भने आफूले नै भूत परियोजनाबारे अनुसन्धान अघि बढाएको दाबी गर्दै आएका छन्। तर उजुरीकर्ताहरूले यसलाई दोष पन्छाउने प्रयास मात्र भएको बताएका छन्।
विश्लेषकहरूका अनुसार राष्ट्रपतिका समर्थकहरूले बहुमत ओगटेको काङ्ग्रेसमा यो उजुरीले धेरै अघि बढ्ने सम्भावना कम छ। फिलिपिन्सको संविधानअनुसार काङ्ग्रेसका कम्तीमा एक सदस्यको समर्थन पाए कुनै पनि नागरिकले महाभियोग उजुरी दायर गर्न सक्ने व्यवस्था छ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया