काठमाडौं ।  लडाकु समूह हमासद्वारा बन्धक बनाइएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले एक मुख्य चोकको नाम ‘विपिन जोशी चोक’ राखेको छ।

मृतक विपिनको घरतर्फ जाने पूर्व–पश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडक जोडिने मुख्य चोकलाई विपिन जोशी चोक नामकरण गरिएको हो। भीमदत्त नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिका र वडा कार्यालयले शुक्रबार औपचारिक रूपमा चोकको नामकरण गर्दै विपिन जोशीको नाम लेखिएको बोर्ड स्थापना गरेका छन्।

advertisement

भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीका अनुसार सोही स्थानमा विपिनको सालिक निर्माण गर्ने निर्णयसमेत भइसकेको छ। सालिक निर्माणका लागि नगरपालिकाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको उनले जानकारी दिए।

“कार्यपालिकाबाट विपिनको स्मृतिमा चोक नामकरण र सालिक निर्माण गर्ने निर्णय भएको छ,” वडाध्यक्ष धामीले भने, “सोहीअनुसार अहिले चोक नामकरण गरिएको हो, केही समयपछि सालिक स्थापना कार्य पनि सम्पन्न हुनेछ।”

यसअघि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले समेत विपिनको स्मृतिमा सालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए। विपिन चोक नामकरण कार्यक्रममा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर जोशीलगायत परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।

भीमदत्त नगर कार्यपालिकाले विपिन जोशीलाई सहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारमा सिफारिससमेत गरेको वडाध्यक्ष धामीले बताए।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका ४९ जना विद्यार्थी दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। इजरायल पुगेको एक महिनामै उनीहरू हमासको आक्रमणमा परेका थिए। उक्त आक्रमणमा १० जना विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई बन्धक बनाइएको थियो। बन्धक अवस्थामै विपिनको मृत्यु भएको हो।

गत कात्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमतिपछि हमासले विपिन जोशीको शव हस्तान्तरण गरेको थियो।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com