काठमाडौं । सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने प्रकृतिका अभिव्यक्ति दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले भद्रप्रसाद नेपाल (स्वागत नेपाल) विरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाएको छ। उनी झापा निर्वाचन क्षेत्र नम्बर–२ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार हुन्।
चुनावी प्रचार–प्रसारका क्रममा विभिन्न युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा विवादास्पद र हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएपछि साइबर ब्युरोले उनलाई कार्यालयमा बोलाई सोधपुछ गरेको हो।
साइबर ब्युरोका अनुसार झापा बिर्तामोड नगरपालिका–७ निवासी नेपालले ‘लोक आवाज’लगायतका युट्युब च्यानलहरूमा पृथ्वीनारायण शाहको सन्दर्भमा सार्वजनिक नैतिकता र शिष्टाचार विपरीतका टिप्पणी गरेका थिए।
ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार भिडियो अन्तर्वार्तामा नेपालले ‘पृथ्वीनारायण शाहको विरोध गर्नेको टाउको काटिन्छ, काट्नुपर्छ, म काट्न तयार छु’ जस्ता हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिएको पाइएको छ।
प्रवक्ता अवस्थीले उक्त अभिव्यक्तिको विषयमा प्रारम्भिक सोधपुछका लागि नेपाललाई कार्यालयमा बोलाइएको र सोधपुछका क्रममा उनले अब उप्रान्त यस्ता गलत अर्थ लाग्ने तथा कानुन विपरीतका अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउँदै लिखित कागजसमेत गरेको जानकारी दिए।
प्रहरीले आवश्यक परेमा उपस्थित हुने सर्तमा उनलाई हालका लागि छाडिएको जनाएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ। यसैबीच, साइबर ब्युरोले सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत हिंसा भड्काउने अभिव्यक्ति दिनेहरूमाथि निगरानी कडा बनाइएको स्पष्ट पारेको छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया